गीतको भिडियो पक्ष पनि उत्तिकै प्रभावशाली छ। निर्देशक आमिर डोङको सिर्जनात्मक सोच र बलियो कन्सेप्टलाई त्रिलोक लामाको उत्कृष्ट छायांकन र सम्पादनले जीवन्त बनाएको छ । यसले सांगीतिक भिडियोमा एउटा गहिरो र अर्थपूर्ण प्रभाव छोडेको छ । कुइसाङ रुम्बा, मिलन तामाङ, बी२ भाई, जनार्दन नेपाल र वर्षा कार्कीजस्ता अनुभवी अतिथि कलाकारहरूको उपस्थिति ले भिडियोमा थप विविधता र आकर्षण थपेको छ। ‘चेन्ज माइ नेसन’ ले केवल मनोरञ्जन मात्र दिँदैन, यसले देशका ज्वलन्त र गम्भीर समस्याहरूमाथि निर्मम प्रहार गर्छ। भ्रष्टाचार, बेरोजगारी, मानव बेचबिखन, मानव अधिकार हनन, र असफल नेतृत्व जस्ता विषयहरूलाई गीतले साहसिक ढंगले उठाएको छ। गीतका “Degrees face on unemployment” (डिग्री लिएकाहरू बेरोजगारीको सामना गर्दै) र “Voices unheard, endless frustrations” (आवाज नसुनिने, अनन्त निराशा) जस्ता पङ्क्तिहरूले देशको यथार्थ पीडा र युवा वर्गको निराशाजनक सपना दुवैलाई सशक्त रूपमा चित्रण गर्छन्।
यो गीतको पहुँच र सोच अन्तर्राष्ट्रिय स्तरको छ। गीतमा अमेरिकी राष्ट्रपति, किम जोङ उनदेखि युरोप र अफ्रिकाका देशहरूसम्मका सन्दर्भहरू आउँछन्, जसले यसको विश्वव्यापी दृष्टि र सन्देश लाई प्रस्ट पार्छ। मञ्जली तामाङले आफ्नो र्याप मार्फत ‘न्याय’, ‘एकता’ र ‘रूपान्तरण’ को लागि विश्वव्यापी आह्वान गरेकी छिन्। हाल TikTok, YouTube, Instagram लगायतका सबै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा यस गीतका क्लिपहरू तीव्र गतिमा भाइरल भइरहेका छन्। यसले गीतको अकल्पनीय लोकप्रियता र दर्शकमा यसको गहिरो प्रभावलाई प्रमाणित गर्छ। ‘चेन्ज माइ नेसन’ लाई नेपाली हिपहपमा एउटा नयाँ युगको सुरुवात को रूपमा लिइएको छ, जहाँ युवाहरू निष्क्रिय नबसी परिवर्तनको सशक्त आवाज बनेर उठिरहेका छन्।

