धनुषा । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गएराति भीषण आगलागी भएको छ। आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिएका छन्।
आगलागीका क्रममा रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिनहरू पूर्ण रूपमा जलेका छन्।
आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँच वटा वारुणयन्त्र परिचालन भएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासपछि करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको हो।
ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्नेछ।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन।

