काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउँदै राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको बताएका छन्।
काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार लागिपरेको स्पष्ट पारे।
उनका अनुसार अब ट्रायल पास गरी राजस्व बुझाएपछि २४ घण्टाभित्र लाइसेन्स छापेर हस्तान्तरण गर्ने व्यवस्था लागू गरिएको हो। साथै, बाँकी रहेका सबै लाइसेन्स असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको पनि उनले जानकारी दिए।
“सम्भव कामलाई असम्भव भनेर रोक्ने प्रवृत्ति अब अन्त्य हुन्छ। ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने अवस्था समाप्त गर्दै २४ घण्टाभित्र छपाइ प्रक्रिया पूरा गर्ने व्यवस्था आजैदेखि लागू भएको छ,” मन्त्री तिमिल्सिनाले भने।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण तथा सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा आवश्यक उपकरणहरू प्रयोगविहीन भएकोप्रति असन्तुष्टि जनाउँदै अहिले ती मेसिनहरू सञ्चालनमा ल्याएर काम अघि बढाइएको उल्लेख गरे।
मन्त्री तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै सरकार जनताको हितअनुसार सञ्चालन हुने स्पष्ट पारे। साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउन गुनासो सुन्ने र समाधान गर्ने प्रणाली मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको गुणस्तर सुधार मन्त्रालयको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको उनले बताए।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। विदेश जाने नागरिकलाई प्राथमिकतामा राखिएको र विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए।
सो अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा. राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो। मन्त्रीले केन्द्रको मेसिनरी, भौतिक पूर्वाधार तथा खाली भवनको अवस्थाबारे पनि जानकारी लिएका थिए।

