साहित्यकार डा.नवराज रिजालद्वारा लिखित नेपाली साहित्यका पच्चीस सर्जक पुस्तकको आज सडक लोकार्पण शृङ्खलाअन्तर्गत प्राज्ञिक बुक्सको प्राङ्गणमा विमोचन गरियो ।
पुस्तक तन्नेरी पत्रिकाले प्रकाशन गरेको हो । पुस्तकका बारेमा आफ्नो मन्तव्य राख्दै लेखक डा. नवराज रिजालले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूले नेपाली साहित्यमा पुर्याएकाे योगदानका बारेमा लिपिबद्द गरी आउने पुस्ताका लागि दस्तावेजीकरण गरिएको जानकारी दिनुभयो । पुस्तकले नयाँ पुराना सबै पुस्ताका लागि निकै महत्त्वपूर्ण कृति रहेको धारणा राख्दै शृङ्खला अभियानका सदस्य राजाराम बर्तौलाले सर्जक रिजालले निकै महत्त्वका साथ कृति तयार गर्नु भएको जानकारी दिनुभयो ।
त्यस्तै कृति र कृतिकारलाई बधाई दिँदै पत्रकार शन्तराम बिडारीले नेपाली साहित्य र पत्रकारिताको चर्चा गर्नुभयो भने पत्रकार तथा साहित्यकार शरद प्रधानले डा. रिजालले इतिहासलाई जीवन्त राख्ने कार्य गर्नुभएको बताउनु भयो ।
अनुसन्धान विमर्श नेपालका अध्यक्ष तथा सडक लोकार्पण शृङ्खलाका महासचिव बद्रीप्रसाद ढकालले यो चौधौं शृङ्खलामा अन्त्यन्त महत्त्वपूर्ण कृति लोकार्पण गर्न सकिएकोमा शृङ्खलाका अध्यक्ष डा. नवराज रिजाललाई बधाइ दिँदै शृङ्खलाको निरन्तरताका सबै स्रष्टा सर्जकमा अभियान साथ रहेको धारणा व्यक्त गर्नुभयो ।

