काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित रचना वाचनको ११०औँ शृङ्खला तथा कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को कृति ‘फिर्दोषको साँचो’ माथिको चर्चा–परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानले मासिक रूपमा सञ्चालन गर्दै आएको रचना वाचन कार्यक्रमअन्तर्गत यस महिना विशेष रूपमा कृति चर्चा समेत समावेश गरिएको हो।
काठमाडौँको तीनकुनेस्थित कौटिल्य ग्लोबल स्कुलमा सम्पन्न कार्यक्रममा ३९ जना स्रष्टाहरूले कविता, कथा, निबन्धलगायत विविध विधाका आफ्ना रचना वाचन गरे। कार्यक्रममा चेवन बस्नेत ‘ठूलाघरे’, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, ढुण्डीराज पोखरेल, प्रमोद भण्डारी, डा. इन्दु केसी, सुन्दर खड्का, विन्दु अधिकारी ढकाल, उमा दाहाल, डा. टी.पी. बराकोटी, राधिका पन्त, नवराज चौलागाईं ‘क्षितिज’, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, दीननाथ पोखरेल, दिलकृष्ण आचार्य, शान्ति निहारिका, आर.डी. भट्ट, प्रेम राई ‘परिक्षित’, अनुराग अरूण, रोमा लम्साल, हेमन्त निरौला, टी.एन. भट्ट ‘विश्वमित्र’, मनीषकुमार शर्मा ‘समित’लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो।
वाचित रचनामाथि समालोचक डा. यज्ञश्वर निरौलाले समीक्षात्मक टिप्पणी गरे ।
स्रष्टाहरूको सिर्जनालाई थप उजागर गर्ने उद्देश्यले प्रतिष्ठानले सञ्चालन गर्दै आएको ‘सृजना परिचय तथा विशेष समालोचकीय टिप्पणी’ कार्यक्रमअन्तर्गत यसपटक कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को कृति ‘फिर्दोषको साँचो’लाई केन्द्रमा राखेर विमर्श गरिएको हो । समालोचक डा. हेम भण्डारीले विषयवस्तु, शिल्प, भाषिक संरचना र समकालीन यथार्थसँगको सम्बन्धका आधारमा ‘फिर्दोसको साँचो’माथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरे ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा. यज्ञेश्वर निरौला र नारायण काफ्लेले स्रष्टा राजबाबु श्रेष्ठ ‘सागर’, समालोचक डा. हेम भण्डारीलाई सम्मानपत्र प्रदान गरे ।


कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष टी.एन. भट्टले गरेका थिए ।

