काठमाडौँ — नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक आनन्द कार्कीलाई २०८२ सालको ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ प्रदान गरिने भएको छ । तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीतको उन्नयन र प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले स्वर्गीय क्याप्टेन रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारले कला, साहित्य तथा समाजप्रतिको निष्ठा, मानवीय मूल्य र चेतनालाई सम्मान गर्दै आएको बताए । गायक कार्कीको सांगीतिक अनुशासन, सिर्जनशीलता तथा सामाजिक चेतनाले पुरस्कारको उद्देश्य र मूल भावनालाई स्पष्ट रूपमा प्रतिनिधित्व गर्ने सूचक प्रकाशनको भनाइ छ ।
कवि सपना लामिछानेले प्रायोजन गर्नुभएको उक्त पुरस्कार आगामी फागुन ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा गायक आनन्द कार्कीलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

