काठमाडौं । आमाको मुख हेर्ने औंसीको दिन कवि अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना दश दश थान कविता सुनाउनुभएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा ठमेलमा भएको कविता वाचन कार्यक्रममा डा.अनन्त अधिकारीले नयाँ वर्ष,भन बकरा,गनगने लोग्नेको श्रीपेच, काठमाडौँ र काठमाडौंहरु, सर्वाइवल नोट, पाउजु नामको स्वतन्त्रता हुँदैन, बासङ्ग आग्रह, डोर प्रसादको डेरा, उप्रान्त मेरो भगवान लगायतका कविताहरु सुनाउनुभयो ।
यसैगरी कवि चिमौरियाले आमा,वर्तमानको सारथी म,देश त संघीयतातिर जाँदैछ नि,आउ एउटा पार्टी खोलौं, ओ मेरो छोराकी प्रेमिका, आफन्तले,मैले दिन सकिन,दुखियाको जिन्दगी,म छाँया खोजी रहेछु सुनाउनुभयो ।
प्रमख अतिथि कवि,साहित्यकार उषा शेरचनले कविहरुलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको धारणा राख्नुभयो । यस्तो व्यस्तताका बीचमा पनि कविमनहरुको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै उहाँले प्रशंसा गर्नुभयो । शेरचनले सुन्दर बिम्बहरुको प्रयोगले कविताहरु बलिया रहेको टिप्पणी गर्नुभयो ।
यस अघि अग्रज साहित्यकार,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरु सुन्दर रहेको बताउनुभयो । उहाँले भन्नुभयो,’नयाँ वर्ष र आमालार्य भावनात्मक रुपले प्रस्तुत गरेर युगबोध हुने खालका अन्य कविताहरु साँच्चै सुन्दर छन् । देशप्रतिको चिन्ताको प्रकटीकरण भएका छन् । बेथितिप्रति कटाक्ष गर्दै जनताको असन्तुष्टीको भकारीमा अन्न राखेर बढ्दै गएजस्तै भरिएको चित्रण गरिएका छन् ।’ उहाँले भोलीका दिनको चिन्ता र व्यवहारलाई सचेत गराउने गरी कविता आएको बताउनुभयो।
अर्का कवि डा.अधिकारीका कविताप्रति टिप्पणी गर्दै रोदनले भन्नुभयो’,कविताहरु सकारात्मक आयाममा आएका छन् । मान्छेका मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेको बताए । उहाँले भन्नुभयो,’ डा.अधिकारीका कविता मान्छेका विभिन्न भूमिकाप्रति लक्षित छ । देखिएको सबै सत्य नहुन सक्छ भन्ने गहन भावका कविता पनि सुनिएका छन् । काठमाडौँको विशालताभित्रका असँख्य पीडाका कवितापनि आएका छन् ।’ उहाँले डा.अधिकारीको कवित्व चेत उच्च रहेको बताउनुभयो ।
लेखनाथ हुमागाईँले आफुले पढाएका विद्यार्थीहरुको साहित्य सिर्जना र सकारात्मक कार्यमा लगनशीलता देखेर मन खुशी भएको बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अतिथिहरुलाई खादाद्धारा चिवहाल परिवारका राष्ट्रमान तुलाधरले सम्मान गर्नुभयो । कविद्धयलाई प्रमुख अतिथि शेरचनले माला लगाएर सम्मान गर्नुभयो । कार्यक्रम चिवहाल परिवार,गौचर ठमेलको सहकार्यमा सम्पन्न भएको थियो भने इखवर नेट मिडिया पार्टनर रहेको थियो ।
कार्यक्रममा चर्चित कवि,साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

