काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्।
धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले आफ्नो राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। सोही प्रक्रिया अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा राजीनामा बुझाउने जानकारी दिएका छन्। बोर्डका एक सञ्चालकका अनुसार बैठकपछि श्रेष्ठले अन्य सदस्यहरूलाई जानकारी दिँदै सरकारलाई सहज बनाउन आफूले पदत्याग गर्ने निर्णय लिएको बताएका थिए।
श्रेष्ठमाथि पछिल्लो समय बिचौलियासँग निकट रहेर काम गरेको आरोप सार्वजनिक हुँदै आएको थियो। यही सन्दर्भमा सरकारले उनलाई बर्खास्त गर्ने संकेत देखिएपछि उनले राजीनामा रोजेको अर्थ्याइएको समेत छ।
उल्लेखनीय छ, श्रेष्ठलाई सरकारले २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

