काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका दशवटा र दुई संयुक्त गरी १२ समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ कार्यक्रममा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा विभिन्न दलका संसदीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सभापतिहरूमध्ये अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग–वाणिज्य तथा श्रम–उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन–न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा चयन भएका छन्। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का निर्वाचित भएका छन्।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले नेतृत्व पाएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ संयुक्त समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन समितिमा गणेश कार्की सभापतिमा चयन भएका छन्।
शिक्षा समिति र निर्देशक सिद्धान्तसम्बन्धी समितिमा एकभन्दा बढी उम्मेदवारी परेपछि ध्वनि मतमार्फत निर्णय गरिएको थियो। सम्बन्धित समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको थियो।
निर्वाचित १२ सभापतिमध्ये ११ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेका छन् भने सार्वजनिक लेखा समितिमा भने प्रतिपक्षी नेपाली कांग्रेसका भरतबहादुर खड्का चयन भएका छन्।
सबै सभापतिहरूले शपथपछि आफ्ना-आफ्ना समितिमा शुक्रबार नै पदबहालीसमेत गरेका छन्।

