ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज (शनिबार) हुने भएको छ। उपत्यकाकै सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा यस वर्ष पनि परम्पराअनुसार सुरु हुन लागेको हो।
पुल्चोकमा रथ निर्माण अन्तिम चरणमा पुगेको छ। रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबार बेलुकासम्म रथ तयार गरी पात्रोअनुसार रथारोहण गरिनेछ।
परम्पराअनुसार रथ निर्माण सम्पन्न भएपछि यसको टुप्पामा ‘गजुर (ब्यामो)’ राखिन्छ, जसलाई रथ तयार भएको संकेतका रूपमा लिने गरिन्छ। गजुर राखेपछि मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुल्चोकमा ल्याइन्छ। मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित पूजारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहनेछ।
पूजापछि देवताको मूर्तिलाई रथमा स्थापित गरिनेछ। रथारोहण सम्पन्न भएसँगै पात्रोअनुसार आगामी ८ वैशाख बेलुका रथ तान्ने कार्यक्रम तय गरिएको छ। सोही दिन रथलाई गा: बहाल पुर्याइने जनाइएको छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने यो जात्राले प्रत्येक वर्ष स्थानीय समुदायमा श्रद्धा, उत्साह र एकताको भावना झल्काउँदै आएको छ।

