काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ। कच्चा पदार्थको मूल्यमा तीव्र वृद्धि र ढुवानी खर्च बढ्दै गएपछि पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षसहित यस्तो निर्णय गरिएको महासंघले जनाएको छ।
महासंघको प्रेस विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको व्यवसायीको दाबी छ।
विज्ञप्तिमा यो निर्णय नाफा कमाउने उद्देश्यले नभई बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिले सिर्जना गरेको बाध्यात्मक अवस्थाका कारण गरिएको उल्लेख छ। उद्योगको दिगोपन कायम राख्न, गुणस्तर सुनिश्चित गर्न र नियमित आपूर्ति निरन्तरता दिन लागतअनुसार मूल्य समायोजन अपरिहार्य बनेको महासंघको भनाइ छ।
महासंघले उपभोक्ता र सरोकारवाला निकायलाई परिस्थितिको गम्भीरता बुझिदिन आग्रहसमेत गरेको छ।

