काठमाडौं । बेलायतमा आयोजित एक भव्य समारोहका बीच डा. श्रीधर खनालको चर्चित उपन्यास ‘सावर्णि’ लाई सुप्रेमो इप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ प्रदान गरिएको छ।
यो पुरस्कार अन्तर्राष्ट्रिय साहित्य समाज, बेलायत च्याप्टरले गत दुई वर्षभित्र प्रकाशित उत्कृष्ट साहित्यिक कृतिमध्ये एकलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरेको हो। विभिन्न विधाका मनोनयन कृतिहरूमध्ये समीक्षा र मूल्यांकनपछि निर्णायक मण्डलले ‘सावर्णि’ लाई उत्कृष्ट ठहर गर्दै सम्मान गरेको हो।
बुक हिल पब्लिकेसनबाट प्रकाशित यो उपन्यास मानव भविष्य, कृत्रिम बौद्धिकता (AI) र विज्ञान–प्रविधिमा आधारित रहेर लेखिएको छ। उपन्यासमा विज्ञान र मानव भावनाको जटिल अन्तरसम्बन्धलाई कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ, जसले नेपाली साहित्यमा नयाँ बौद्धिक धारको सुरुवात गरेको मूल्यांकन गरिएको छ।
निर्णायक मण्डलका अनुसार, ‘सावर्णि’ ले भविष्यको समाज, चेतनाको रूपान्तरण र प्रविधि–नैतिकताको सन्तुलनबारे गहिरो विमर्श प्रस्तुत गरेको छ, जुन अन्तर्राष्ट्रिय स्तरमै सन्देशमूलक र नवीन धारको योगदानका रूपमा रहन्छ।

