काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र फर्जी बिल पेस गरी रकम हिनामिना गरेको अभियोगमा मिश्रालगायत विरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार अभियुक्तहरूले सम्झौताका सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नभएको अवस्थामै “सबै सामग्री प्राप्त भयो” भन्ने गलत विवरण तयार पारी भुक्तानी लिएको आरोप छ।
“बद्नियत राखी गलत दाखिला प्रतिवेदन र झुठा बिलबिजक तयार गरी भ्रष्टाचार गरिएको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो,” प्रवक्ता पौडेलले विज्ञप्तिमार्फत बताएका छन्।
१४ करोड बढीको बिगो मागदाबी
आयोगले हरेक अभियुक्तविरुद्ध रु १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो र त्यसअनुसारको सजाय मागदाबी गरेको छ।
मुद्दामा नाम रहेका अन्य अधिकारीहरूमा विभागका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसिया, निर्देशक डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इञ्जिनियर आशिष चौहान र पद्मा मिश्र, केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, साथै म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि र कम्पनीका मुख्य कार्यकारी सुन्दर भुसाल समावेश छन्।
फर्जी बिलमार्फत रकम हिनामिना गरेको आरोप
अख्तियारले आरोपपत्रमा उल्लेख गरेअनुसार, विभागका सम्बन्धित अधिकारीहरूले म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्ससँगको सम्झौता तोडफोड गरी सम्पूर्ण सामग्री प्राप्त नभए पनि भुक्तानी प्रक्रिया सकाएर सरकारी रकम अनधिकृत रूपमा निकालेका थिए।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको गम्भीर आर्थिक अपराधको रूपमा परिभाषित गर्दै अभियोजन अघि बढाएको हो।
अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै प्रारम्भिक सुनुवाइको मिति तय हुने अदालत स्रोतले बतायो। अदालतले अभियुक्तहरूलाई उपस्थित हुन आदेश जारी गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

