तेह्रथुम । लालीगुराँस नगरपालिकास्थित रमणीय चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यिक उर्जाले भरिएको छ। वैशाख १० गतेदेखि सञ्चालन भइरहेको लालीगुराँस महोत्सव अन्तर्गत आयोजित चोत्लुङ साहित्य गोष्ठीले प्रकृति, कविता र चेतनाको सुन्दर संगम सिर्जना गर्दै गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई दुई दिनसम्म साहित्यमय बनाएको हो।
वसन्तपुर बजारस्थित रैथाने वास्तुकलाको सौन्दर्य बोकेको पर्यटकीय गन्तव्य चोत्लुङ पार्कमा आयोजित गोष्ठीमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट आएका साहित्यकारहरूको उल्लेख्य सहभागिता रह्यो। भारतको सिक्किमबाट सहभागी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले आफ्ना सशक्त कवितामार्फत कार्यक्रममा अन्तर्राष्ट्रिय आयाम थपिन्। उहाँसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूले प्रकृति, संस्कृति, प्रेम, समयचेत र मानवीय संवेदनाले भरिएका कविता वाचन गर्दै उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध बनाए।
कार्यक्रममा सहभागी विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाषले प्राकृतिक सौन्दर्यले भरिपूर्ण चोत्लुङ पार्कमा साहित्यिक कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यप्रतिको सम्मान र मूल्यबोधलाई व्यवहारमा उतारेको बताइन्। उनका अनुसार प्रकृतिको काखमा बसेर साहित्य सुन्नु र अनुभूति गर्नु आफैंमा एक विशिष्ट सांस्कृतिक अनुभव बनेको थियो।
गोष्ठीका मुख्य आकर्षणमध्ये चलचित्र निर्देशक, आख्यानकार तथा कवि उपेन्द्र सुब्बा पनि रहे। उनले समाजलाई विचार, संवेदना र सिर्जनशीलताको दिशामा अघि बढाउन यस्ता साहित्यिक जमघट, विमर्श र संवाद अपरिहार्य हुने उल्लेख गरे। उनका भनाइमा, साहित्य केवल मनोरञ्जनको साधन नभई समाजलाई आत्मबोध, चेतना र परिवर्तनतर्फ डोर्याउने सशक्त माध्यम हो।
कार्यक्रमका अवसरमा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले साहित्यलाई जलवायु परिवर्तनजस्ता गम्भीर विषयमा जनचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न खोजिएको बताए। उनका अनुसार प्रकृति संरक्षण, गुराँसको जैविक विविधता जोगाउने सवाल, स्थानीय पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असर न्यूनीकरणबारे सन्देश प्रवाह गर्न साहित्य गोष्ठीलाई विशेष रूपमा केन्द्रित गरिएको हो।
गोष्ठीमा मुन्धुमी ज्ञान, प्रकृति र जलवायुबीचको अन्तरसम्बन्ध, गुराँस संरक्षणको आवश्यकता, स्थानीय पहिचानको प्रवर्द्धन तथा पर्यावरणीय सन्तुलन कायम राख्ने विषयमा पनि गहन विमर्श भएको थियो। प्रकृतिको सुन्दर काखमा कविता, चेतना र चिन्तनको संगम बनेको यो साहित्यिक जमघटले चोत्लुङ पार्कलाई केवल पर्यटकीय गन्तव्य मात्र नभई सिर्जना, संवाद र सांस्कृतिक चेतनाको केन्द्रका रूपमा समेत स्थापित गरेको अनुभूति सहभागीहरूले गरेका छन्।

