-जयराम बिडारी
फागुन २३,काठमाडौं
नियात्राकार पशुपति घिमिरेका नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ को लोकार्पण भएको छ ।राजधानीमा होटल मार्कोपोलोमा शिखा बुक्सद्वारा शनिवार आयोजित एक भव्य कार्यक्रमको आयोजनामा प्रा.डा.गोविन्दराज भट्टराई तथा कवि प्रल्हाद पोखरेल,नियात्राकार राजेन्द्रमान डङ्गोल,विश्व साइकलयात्री तथा नियात्राकार पुष्कर शाह,चर्चित समीक्षक राजकुमार बानिया,प्रकाशक पुषपराज पौडेल,साहित्यकार कुमारी लामा,अनिता कोइराला र लेखक पशुपति घिमिरेले एकसाथ लोकार्पण गरे ।
कार्यक्रममा प्रा.डा.गोविन्दराज भट्टराईले प्रमुख अतिथिको मन्तव्य राख्दै नियात्रासङ्ग्रहबारे चर्चा गर्दै भने, ‘हाम्रा सिर्जना भनेको कहिल्यै पूर्ण नहुने चिज हो । यो सगरमाथा आरोहण गरेपछि पूर्ण भइजाने एउटा यात्रा हैन । यो यस्तो यात्रा हो कि आफैंले निर्माण गरेको यात्रालाई जीवन रहेसम्म श्रष्टा आफैले नाघ्दै–नाघ्दै नयाँ–नयाँ पर्वत चढिरहने हो ।’
उनले अगाडी भने, ‘पाठकको हृदयलाई सुस्तरी हल्लाएर मथिंगलमा गहिरो प्रभाव छाड्न सक्ने बलशाली नियात्रासङ्ग्रह हो यो । यस्ता कलात्मक निबन्धहरू विरलै पढ्न पाइन्छन् । उनले लैनसिंह बाङ्गदेलको मुलुक बाहिर उपन्यास भएपनि ४० दिन लगाएर गरिएको बेलायत यात्रालाई नियात्राका शैलीमा प्रस्तुत गरेको बताए । प्रा.डा.भट्टराईले डायस्पोरिक लेखनका क्षेत्रमा सशक्त हस्ताक्षरका रुपमा परिचित घिमिरेको सामान्य तर पाठकलाई मोहित पार्ने भाषा शैली मनोवैज्ञानिक रुपमा प्रभाव पार्ने प्रयत्नले तीन महादेशका केही तरङ्गमा प्राण भरेको उल्लेख गर्दै आगामी कृतिहरु अझै सशक्त रुपमा आउने बिश्वास व्यक्त गर्दै कृति सफलताको कामना गरे।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै चर्चित समीक्षक राजकुमार बानियाले पशुपतिका अनुभवले खारिएका नियात्रासङ्ग्रह नेपाली पाठकले पाएको बताए । वर्तमान समयको साक्षि बोल्ने नियात्रामा जीवनचेतबारे निकै मिठो बिम्बहरु संगालिएको पनि उल्लेख गरे । उनले भने, मनोचेतलाई सुक्ष्म रुपमा अध्ययन गरिंदै कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । साहित्यमा कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । नियात्राहरुले आम पाठकको संवेदनालाई प्रष्ट्याएको छ ।’
कृतिमाथी टिप्पणी गर्दै विश्व साइकल यात्री पुष्कर शाहले अनुभूतिको संगीतका रुपमा यात्रालाई प्रस्तुत गरिएको पाइन्छ । शाहले जीवनका विभिन्न आयाम र भौतिक विज्ञानलाई समेत यस्तो सरल शैलीमा नियात्रा लेख्नु सर्जकको उत्कृष्ट काव्यशैली भएको बताए ।
कार्यक्रममा लेखक नारायण नेपाल,सम्पादक पारस नेपाल,ओमआस्था राई,नरेन्द्र रौले,निवन्धकार कुमारी लामा,कवि तथा उपन्यासकार रुबि सत्याल उपन्यासकार अनिता कोइराला लगायतको सहभागितामा सम्पन्न कार्यक्रमका सहजीकरण सीता रिजाल र स्वागत पुषपराज पौडेलले गरेका थिए ।

