जनसांस्कृतिक महासंघले मनायो ३९औँ स्थापना दिवस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले आफ्नो ३९औँ स्थापना दिवस विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ। महासंघको कार्यालय अद्वैतमार्ग, बागबजारमा कार्यक्रम भएको हो ।
कार्यक्रममा एमाले उपाध्यक्ष रघुजी पन्तले सूचना प्रविधि सृजनशीलताका लागि अवसर मात्र नभई चुनौतीको रूपमा पनि उपस्थित रहेको उल्लेख गर्दै समाजबाटै प्राप्त हुने मानवीय अनुभूतिलाई आत्मसात् गरी वैचारिक अभियानमा लाग्न स्रष्टाहरूलाई आग्रह गरे।
पूर्व शिक्षामन्त्रीसमेत रहेका पन्तले महासंघले पुराना स्रष्टाको सम्मान गर्दै नयाँ पुस्तासम्म सांस्कृतिक चेतना विस्तार गर्नुपर्नेमा जोड दिए। “नयाँ पुस्तालाई समेटेर वैचारिक र उद्देश्यमूलक यात्रामा महासंघ अग्रसर हुनुपर्छ,” उनले भने।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले सांस्कृतिक रूपान्तरणका लागि विचार र चेतनाको निर्माण अत्यन्त आवश्यक रहेको बताइन्। उनले महासंघले स्रष्टालाई समर्पित रूपमा लाग्न प्रेरित गरिरहेको उल्लेख गरिन्।
एमाले केन्द्रीय सदस्य सुजिता शाक्यले संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको वर्तमान अवस्थामा संस्कृतिकर्मीको भूमिका अझै महत्वपूर्ण बनेको धारणा राखिन्। यस्तै, केन्द्रीय सदस्य हेमराज राईले सामाजिक परिवर्तनलाई सम्बोधन गर्ने सशक्त रचनाहरू सिर्जना गर्न स्रष्टालाई आग्रह गरे।
स्थापना दिवसको अवसरमा नन्दु उप्रेतीले समसामयिक कविता वाचन गरेका थिए भने भरत नेपाली र सूर्य मगरले सारंगीको धुन प्रस्तुत गरेका थिए।
महासंघका कार्यवाहक अध्यक्ष अशोककुमार राईले सार्थक सिर्जनासँगै सिद्धान्त र व्यवहारबीच सन्तुलन तथा संगठनात्मक समन्वय आवश्यक रहेको बताए।
वि.सं. २०४४ पुस १९ मा साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’का रूपमा स्थापना भएको संस्था हाल राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका रूपमा सक्रिय छ।

