नन्दलाल खरेल
हामीसँग तारा हुनेछ, उज्यालो आकाशमा फहराउने,
देश बनाउने अभिभारा हुनेछ, जनताको हातमा आउने।
खारिएका पुस्ता हुनेछ, आगोमा पोलिएका हातहरू,
अब तिनै हातले लेख्नेछन्, नयाँ इतिहासका पानाहरू।१।
नयाँ जेन–जि पुस्ता हुनेछ, विचारको बिजारोपण गर्ने,
बुटले थिचिएका सपनालाई, विज्ञान र सङ्घर्षले उचाल्ने।
गरिब, मजदुर, किसानका आवाज उठ्नेछन् गाउँ–शहरमा,
जनताको शासनको सूर्योदय हुनेछ रातको अँध्यारमा।२।
अब कुनै दलाल नाच्ने छैनन् जनताको रगतमा,
अब कुनै सामन्त हस्ने छैनन् किसानको आगनमा।
क्रान्तिको लागि उठ्नेछ नयाँ लहर जनजागरणको,
माटो, पसिना र बलिदानले सिचिन्छ समतामूलक भविष्यको।३।
हामीसँग हृदयमा क्रान्ति हुनेछ, आँखामा नयाँ दृष्टि,
भोक र अन्यायको साखल तोड्नेछौँ, यही हाम्रो सृष्टि।
देशको धड्कनमा बज्नेछ अब, कामदारको रगतको ताल,
यो माटो, यो जनता, र यो क्रान्ति — हाम्रो सर्वकाल।४।

