काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर फैलिएको जेनजी आन्दोलनको वास्तविक अभिभावक आफ्नो पार्टी रहेको दाबी गरेका छन्। उनले भ्रष्टाचारविरुद्धको जनआन्दोलनलाई नेकपाले नै पहिलो पटक संस्थागत समर्थन गरेको भन्दै आगामी राजनीतिक यात्रामा युवाहरूलाई नेतृत्वमा ल्याउने समेत घोषणा गरे ।
बुधबार काठमाडौंमा आयोजित नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो। जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन गरेका हौं।”
उनका अनुसार देशमा परिवर्तनका हरेक चरणमा युवाहरू अग्रपङ्क्तिमा रहँदै आएका छन् र अहिले पनि उनीहरूको असली अभिभावक नेकपा नै हो।
“हामी युवाको आन्दोलनसँग सहानुभूति मात्र होइन, उसको भावनालाई राजनीतिक दिशामा रूपान्तरण गर्न चाहन्छौं,” उनले जोड दिए, “महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरिन्छ। आगामी निर्वाचनमा बढीभन्दा बढी युवालाई उम्मेदवार बनाइन्छ।”
संयोजक दाहालले पार्टीभित्र क्रान्तिकारी रूपान्तरणको प्रक्रिया सुरु भएको बताउँदै भने, “अब कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी, इमानदार र जनताको भरोसायोग्य राजनीतिक शक्ति बनाइन्छ।”
उनले आगामी आम निर्वाचनमा नेकपाले मुलुकको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै देशभरका वामपन्थी कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरे। “क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरण सुरु भइसकेको छ,” उनले भने, “इमानदार, जनमुखी र देशप्रेमी वाम नेताहरू अब क्रमशः नेकपामा समाहित हुँदै जानेछन्।”
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि देशमा फैलिएको निराशा, बेरोजगारी, र भ्रष्टाचारको विरुद्ध जेनजी पुस्ताको विद्रोहलाई स्वागत गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवको समन्वयबाट मात्र देशले स्थायी समाधान पाउन सक्ने धारणा राखे।
मातृभूमि जागरण अभियानका नेताहरूले नेकपासँगको एकतालाई सामाजिक न्याय, सुशासन र वैचारिक पुनर्जागरणतर्फको साझा यात्राका रूपमा व्याख्या गरेका छन्। कार्यक्रममा राजधानी उपत्यका बाहेक विभिन्न प्रदेशबाट आएका युवा प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
प्रचण्डले अन्त्यमा भने, “जेनजी युवाले उठाएको नारा केवल असन्तोषको स्वर होइन, यो नयाँ नेपालको पुनःनिर्माणको आह्वान हो। त्यसको नेतृत्व गर्ने राजनीतिक शक्तिको जिम्मेवारी नेकपाले लिएको छ।”

