काठमाडौँ — डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपयोग गर्ने तर प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका उद्योगहरूमा पुनः विद्युत् आपूर्ति सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार किस्ताबन्दीमार्फत बक्यौता भुक्तान सुरु भएपछि आपूर्ति नियमित गरिएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार कुल बक्यौताका २८ किस्तामध्ये पहिलो किस्ता तिरेपछि सबै प्रभावित उद्योगमा बिजुली पुनः प्रवाह गरिएको छ। उनका अनुसार, “अब डेडिकेटेड वा ट्रंकलाइन महसुल बक्यौताका कारण कुनै पनि उद्योगको लाइन काटिएको छैन।”
प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना जारी गर्दै २८ किस्तामा बक्यौता तिर्न २१ कार्यदिनको समय दिएको थियो। सो अवधिमा १३ औद्योगिक ग्राहकले भुक्तान गरे पनि बाँकी २५ उद्योगले नतिरेकाले प्राधिकरणले उनीहरूको लाइन काटेको थियो।
त्यसमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण पहिले नै लाइन काटिएको थियो। कात्तिक ४ गते प्रमुख ६ ठूला उद्योगको बिजुली काटिएको र बाँकी उद्योगको आपूर्ति कात्तिक ७ गते राति रोकिएको थियो।
ती उद्योगमध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले नियमित महसुल समेत तिरेका छैनन्। ती उद्योग पहिले नै बन्द अवस्थामा रहेका छन् भने अर्काे एक सिमेन्ट उद्योगले ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको प्राधिकरणले जनाएको छ।

