– माधव घिमिरे ‘अटल’
बागबजारको व्यस्त सडक । अपराह्नको समय । क्रमश: बढ्दै जान्छ कलमकर्मीहरूको भीड । एकक्षण त सवारी आवागमन नै तलमाथि हुन्छ । क्षणभरमै लेखकहरूका हातहातमा पुस्तक देखिन्छ । एकाएक पुस्तकहरू ठडिन्छन् हरेकका हातमा । तिनै विमोचक, तिनै दर्शक, स्रोता अनि भावक । एउटा क्यामरा तेर्सिन्छ उनीहरूतिर । यो पृथक् शैलीको कृति सार्वजनीकरण कार्यक्रम हो- विश्वकर्मा भोजनालय’ उपन्यासको । गङ्गाप्रसाद भेटवालकृत उक्त उपन्यासको लोकार्पण कार्यक्रमको दृश्य हो यो ।
हिजो बैशाख ०२ गते बुधबारको उक्त कार्यक्रममा उपन्यासबारे राजाराम बर्तौला, मेघेन्द्र बि.क.,शीतल गिरी, कृष्ण बाउसे, मन्दिरा मधुश्री, विमल अर्यालले आआफ्ना धारणा राखे । दलितले सहजै आफ्नो व्यवसाय गरी आयआर्जन गरेको र जातीय विभेद शून्यमा झरेको परिकल्पनामा आधारित छ- विश्वकर्मा भोजनालय ।
विमोचकहरूमा क्रमशः कृष्ण बाउसे, डिल्लीरमण सुवेदी, शरद प्रधान, राजाराम बर्तौला, रामकृष्ण कुँवर, एनबी जनकपुरी, दीपक भेटुवाल, तेजविलास अधिकारी, जय छाङ्छा, माधव नेपाल, रुबि सत्याल, गङ्गाप्रसाद खतिवडा, नवराज रिजाल, विमल अर्याल, प्रतीक घिमिरे, जयराम बिडारी, मेघेन्द्र विश्वकर्मा, हरि गौतम, बद्रीप्रसाद ढकाल, शीतल गिरी, बबिता राउत, हिमाल गिरी, श्रीराम पौडेल, अन्तरिक्ष अधिकारी, माधव घिमिरे ‘अटल’, चिरञ्जीवी देवकोटा र शीतल गिरी थिए ।

