सन्दर्भः आमाको मुख हेर्ने औंसी
–विश्वनाथ खरेल
वैदिक हिन्दू धार्मिक ग्रन्थहरुमा आमाको महिमाबारे व्यापक चर्चापरिचर्चा गरिएको छ । लक्ष्मणले जन्मभूमि र आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ भनेको कुराले पनि आमाको महिमाबारे स्पष्ट हुन्छ । सन्ततिप्रति गरिने आमाको माया नै सबैभन्दा चोखो हुन्छ । यहाँ विभिन्न धर्मालम्बीहरु छन् । जस्को आ–आफ्नो किसिमको धर्महरु रहेको छ । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो राष्ट्रमा हरेक तिथि, चाडपर्वको आफ्नै प्रकारको मौलिक बिशेषता देखिन्छ । यसरी हेर्दा हरेक तिथिहरुको एउटा न एउटा महत्वपूर्ण पर्व परेको पाइन्छ । जुनसुकै समाज, राष्ट्रको लागि जातीय र राष्ट्रिय स्वाभिमानका लागि प्राचिन इतिहास, परम्परा, धर्म र संस्कृति चाहिन्छ । यो विना समाज र देशको कुनै औचित्य रहँदैन ।
हिन्दू धर्म र संस्कृति अनुसार बैशाख कृष्ण औंसी तिथिलाई मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । हाम्रो धर्म दर्शनले आमाबाबुलाई साथै गुरुलाई पनि स्वयं तीर्थकै प्रतिरुप मानेको छ । यसमध्ये आमालाई गंगा नामक तीर्थ भनेको छ भने बाबुलाई पुष्कर तीर्थ र गुरुलाई केदारतीर्थ मानेको छ । त्यसकारणले गर्दा मातातीर्थ औंसी भनेको हरेका व्यक्तिको एक महत्वपूर्ण पर्व हो । मातातीर्थ पर्वको प्रथा कुन बेलादेखि चलेको हो भन्ने विषयमा एउटा किवंदन्ती पनि छ – धेरै वर्ष अगाडि थानकोट नजिकै एउटा चौर थियो । त्यहाँ दिनदिनै एक बथान गोठालाले आफ्ना गाईबस्तु चराउने गर्दथे । एक दिन अचानक एकजना गोठालाले फ्ँयाकेको रोटीको टुक्राहरु बिलाएर गयो, त्यसले धेरैपटक रोटीका टुक्राहरु फ्याँक्दा पनि प्रत्येकपटक बिलाएर गएकोले त्यस कार्यको अनुशरण गरी अरु गोठालाहरुले पनि रोटीको टुक्रा फ्याँले । तर, त्यहाँ आमाको मृत्यु भइसकेका गोठालाहरुले फ्ँयाकेका रोटीका टुक्राहरु मात्र बिलाए र आमा जीवित रहेका गोठालाहरुले फ्याँकेका रोटीका टुक्राहरु बिलाएनन् । फेरी यस्तै प्रकारको घटना त्यही एक दिनमात्र भयो र भोलिपल्ट देखि भएन । किनभने त्यस दिन बैशाख कृष्णपक्ष औंसीको दिन थियो । त्यसकारण त्यस दिन र त्यस स्थानको महत्व बुझि त्यो ठाउँ बैशाख कृष्णपक्ष औंसीका दिन मृत आमाहरु आएर आ–आफ्ना छोराछोरीहरुको हातबाट प्रदान गरिएका खाद्य बस्तुहरु ग्रहण गर्न आउने ठाउँ रहेछ भनी बिचार गर्न थालियो । अनि त्यसै स्थानमा मानिसहरुले एउटा कुण्ड बनाई मातातीर्थ नामाकरण गरेर बर्षेनी मातृ दिवस मनाउन थाले । सो कुण्डमा आफ्नै दिवंगत आमाको छायाँ पनि देख्न सकिन्छ भर्ने जन विश्वास पनि रहेकोले सो कुण्डमा प्रत्येक बर्ष आजकै दिन घुइँचो लाग्छ । आमाको मुख हेर्ने दिनकोरुपमा परिचित यस दिनमा आमा हुने छोराछोरीले आमालाई स्वादिष्ट व्यञ्जन, कपडा, सगुन उपहार दिई दर्शन गर्छन भने आमा नहुनेले तर्पण, सिदा दिई श्राद्ध गर्दछन् ।
आमाले हामीलाई यस धर्तीमा ल्याइन्, हुर्काइन, पढाइन्, लेखाइन र योग्य नागरिक बनाइनन्, उनी भन्दा ठूलो तीर्थ हाम्रो लागि अरु केही हुन पनि सक्दैन । सन्तानले जतिनै दुःख दिए पनि उनी कहिल्यै पनि कुभलो चाहदिनन् , हरबखत कुनै परबाह नराखिकन उनी हरहमेशा निःस्वार्थ भावले आफ्नो सन्तानको उद्धार मात्र चाहन्छिन्, भलाई चाहन्छिन् । आधुनिक युगमा मात्र होइन प्राचीन युगमा पनि आफनी आमासरह मातृभूमिलाई पनि पवित्र मानिएको छ । जस्तै संस्कृत भाषाको एक उक्ती छ –“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ” अर्थात आमा र जन्मभूमि भनेको स्वर्गभन्दा पनि ठूला हुन् । त्यसैले हामी आफ्नो आमालाई जस्तै आदर र सम्मान गछौं, त्यस्तै आफ्नो मातृभूमिलाई पनि आदर सम्मान र माया गर्नुपर्छ र मातृभूमिको हित हुने कार्यमा लाग्नुपर्छ । हाम्रो शास्त्रमा के उल्लेख छ भने आमालाई राम्ररी खुसी पार्नेको दरसन्तानको समेत कल्याण हुने उल्लेख गरिएको पाइन्छ । त्यसै गरी आमा मरिसकेका छोराछोरीले चाहि आमाको सम्झनामा बिभिन्न धार्मिक अनुष्ठानहरु गर्ने चलन छ । यस दिन आमा स्वर्गारोहण भइसकेकका छोराछोरीहरु आफ्नो जन्म दिने आमाको सम्झना गर्दै विभिन्न किसिमको पवित्र तीर्थमा स्नान गरी श्राद समेत गर्ने गर्दछन् । आमा नहुने छोराछोरीले नुहाएर पवित्र भई सीधा दान गर्दछन् । साथै स्वर्गीय आमाको आत्माले शान्ती पाओस् भनेर देवीदेवताको मन्दिरमा गई आमाको सम्झनामा धूपदिप बाली पूजाआजा गर्ने चलन छ ।
समग्रमा भन्नुपर्दा आमाकै बिषेष स्नेह र लालन–पालनमा हामी हुर्किएका हुन्छौ । त्यसैले यस दिनलाई बडो धूम–धामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ । आमा हुनेहरु वा नहुनेहरुले पनि यस पर्वलाई परम्परागतरुपमा आफ्नो संस्कृतिको एक प्रमुख अंगको रुपमा मनाउने प्रचलन चलिआएको छ । त्यसैले यो पर्वसंग धार्मिक आस्था मात्र गाँसिएको नभई भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यही प्रेम, आस्था र श्रद्धालाई प्रत्येक व्यक्तिले आफ्नी आमाप्रति दर्शाइनु पर्ने भावभक्तिकारुपमा आजको यस दिनलाई मनाउनुको प्रमुख सामाजिक बिशेषता नै हो ।हाम्रो समाजले माता, पिता र गुरुलाई सम्मान गर्नकै लागि भए पनि हरेक बर्षमा बर्षको एक दिन पर्वकै रुपमा यी दिनहरुलाई अगाडि सारेर सोको गरिमा झन बढाएको पाइन्छ । मातृऔंसी, कुशेऔंसी र गुरु यसको मतलब यो होइन कि बर्षको एक दिन उनीहरुप्रति श्रद्धा र सम्मान प्रकट गर्ने अनि बाँकी दिनहरुमा कुनै वास्ता नगर्ने । उनीहरु त सधैं पूजनीय हुन्छन् । यी पर्वहरु त केवल हाम्रा लागि मार्गदशक हुन जसको क्रियाकलापबाट केही सिकेर सधैभरी आमाबाबुलाई यस्तै व्यवहार गर्नुपर्छ भन्ने यस पर्वको वास्तविक उद्देश्य हो ।

