काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई दिगो र समावेशी बनाउन गाउँतर्फ केन्द्रित नीति अपरिहार्य रहेको बताएका छन्।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भीटोफ) को अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। “पर्यटनलाई राष्ट्रव्यापी विकासको आधार बनाउने हो भने गाउँ केन्द्रित रणनीति आवश्यक छ,” उनले भने।
उनले ग्रामीण क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभाव, दक्ष जनशक्तिको कमी, सीमित बजार पहुँच र प्रभावकारी प्रचार–प्रसारको अभावका कारण अपेक्षित प्रगति हुन नसकेको औँल्याए। त्यसका लागि सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत संरचनामा लगानी बढाउनुपर्ने आवश्यकता उनले जोड दिए।
पर्यटनमैत्री कानुनी व्यवस्था, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय तथा दीर्घकालीन नीतिगत योजना अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको नेतृत्वबाट आवश्यक सहकार्य र समन्वयमा कुनै कमी हुन नहुने बताए।

