काठमाडौँ — नेकपा (संयुक्त)ले जेनजी आन्दोलनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि नयाँ शक्तिशाली आयोग गठन गर्न माग गरेको छ।
राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकपछि पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले घटनाको वास्तविकता नसमेटेको भन्दै असन्तुष्टि जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही छ। त्यसैले बहालवाला न्यायाधीशको नेतृत्वमा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ का घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्छ।”
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि असोजभित्र जिल्ला तहमा संगठन विस्तार पूरा गर्ने योजना सार्वजनिक गरिएको छ।
यसैगरी, नेकपा (संयुक्त)ले २०४८ सालदेखि हालसम्मका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिका तथा सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नसमेत माग गरेको छ ।

