काठमाडौँ। रामेश्वरप्रसाद खनालले बैंकिङ प्रणालीमा उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ब्याजदर घटेको र तरलता पर्याप्त रहेको वर्तमान अवस्थामा उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्नु आवश्यक रहेको उल्लेख गरेका हुन् ।
उनले दीर्घकालीन लगानी आवश्यक पर्ने ठूला पूर्वाधार आयोजना अघि बढाउनुपर्नेमा जोड दिँदै बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत लगानी बढाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा उनले विशेष जोड दिए।
मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने र मूल्यवृद्धि हुनसक्ने भन्दै त्यसतर्फ सतर्क रहनुपर्ने उनले बताए। “अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, राजस्व पनि बढ्दो क्रममा छ, अधिकांश आर्थिक सूचकहरू सुधारोन्मुख छन्,” उनले भने, “अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण बनाउनुपर्छ।”
अर्थमन्त्री खनालले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन छिट्टै निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अवकाश कोषमा लाग्ने कर नीतिमा पुनर्विचार गर्नुपर्ने बताए। समान प्रकृतिको आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा पनि उनले जोड दिए।
सरकारी स्वामित्वका संस्थाहरू समस्याग्रस्त बन्दै गएको उल्लेख गर्दै उनले नागरिक लगानी कोषले भने व्यवसायिक सफलता हासिल गरेको बताए। नेपाल वायुसेवा निगममा प्रवाहित कर्जाको असुलीका विषयमा सरकारको नीतिगत जमानीका आधारमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले दिगो आर्थिक विकासमा कोषको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार आवश्यक रहेको बताए।
कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानी विविधीकरण आवश्यक रहेको बताए।
उनका अनुसार हाल कोषको करिब आधा लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको, करिब २२ प्रतिशत सापटी तथा कर्जामा र बाँकी विभिन्न संस्थाका शेयरमा लगानी गरिएको छ। ब्याजदरमा आएको गिरावटका कारण नाफामा असर पर्ने सम्भावना रहेको उनले बताए।
उनले लगानी विविधीकरण नभए आम्दानी घट्ने जोखिम रहेको उल्लेख गर्दै सरकारले प्राथमिकतामा राखेका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।
साथै, कोषले डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवा विस्तार गरिरहेको जानकारी दिए।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पनि दीर्घकालीन प्रतिफलका लागि लगानी विविधीकरण आवश्यक रहेको बताए। उनले ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्न सुझाव दिए।
उनका अनुसार हाल बैंकिङ क्षेत्रमा करिब ७७ खर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको छ भने करिब ५८ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रको विस्तार दर करिब ३.९ प्रतिशतमा सीमित रहेको र ऋण असुलीमा समेत चुनौती देखिएको उनले बताए।

