लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश आयोजना बैंक’ सञ्चालनमा ल्याउने तयारी थालेको छ। मन्त्रिपरिषद् बैठकले ‘प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ स्वीकृत गर्दै प्रक्रिया अघि बढाएको हो।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुका अनुसार उक्त आयोजना बैंकमार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजनाहरूको छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
बैठकले विभिन्न तहमा बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको छ। निर्णयअनुसार विनोद लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी, नारद गौतमलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी र दिवाकर भण्डारीलाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य सेवातर्फ रोशनलाल चौधरीलाई प्रदेश स्वास्थ्य निर्देशनालयमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ भने डा. राजेन्द्रकुमार गिरीलाई रुपन्देहीस्थित प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा सोही जिम्मेवारी दिइएको छ।
यसैगरी डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, डा. पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पताल र डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा डा. अनुप थापालाई प्रमुख कन्सल्टेन्ट (अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजिस्ट), डा. भुवन पौडेललाई प्रमुख कन्सल्टेन्ट सर्जन, डा. सुरेन्द्र कुँवरलाई प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, डा. पुष्पराज जोशीलाई प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन, डा. कृष्णहरि सुवेदीलाई प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन तथा डा. प्रभात पोख्रेललाई प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्टका रूपमा पदस्थापन गरिएको छ।
त्यस्तै डा. गोपालप्रसाद ज्ञवालीलाई सोही अस्पतालमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको जिम्मेवारी दिइएको छ।
इञ्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इञ्जिनियरका रूपमा पदस्थापन गरिएको छ भने वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ।

