काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले सानदार प्रदर्शन गर्दै पहिलो जित दर्ता गरेको छ।
कोलकातास्थित इडेन गार्डेनमा गएराति भएको खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो।
पहिलो इनिङमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २२६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
टोलीका लागि हेनरी क्लासनले ५२ रनको उत्कृष्ट अर्धशतक बनाए भने अभिषेक शर्मा (४८), ट्राभिस हेड (४६) र नितिसकुमार रेड्डी (३९) ले महत्वपूर्ण योगदान दिए।
जवाफमा २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमै सबै विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि अंगकृष रघुवंशीले ५२ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। रिंकु सिंहले ३५ तथा फिन एलनले २८ रन जोडे।
हैदराबादको जितमा जयदेव उनाड्कटले तीन विकेट लिएर प्रमुख भूमिका खेले। उनले तीन ओभरमा २१ रन मात्र खर्चिए। साथै इशान मलिंगा र नितिसकुमार रेड्डीले समान दुई–दुई विकेट लिए भने हर्ष दुबेले एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा हार व्यहोरेको हैदराबादले यस जितसँगै प्रतियोगितामा लय समातेको छ भने कोलकाताको भने लगातार दोस्रो हार हो।
प्रतियोगिताअन्तर्गत आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

