मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। सन् २०२६ को पहिलो तीन महिनामै ४३ हजार ६५ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना तथा अन्य मुलुकबाट पाँच हजार ६७ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन्। एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले उक्त तथ्याङ्क सार्वजनिक गरेका छन्।
गत वर्षको सोही अवधिसँग तुलना गर्दा पर्यटक आगमनमा उल्लेख्य वृद्धि देखिएको छ। सन् २०२५ को यही अवधिमा कुल २८ हजार ७४४ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए, जसमध्ये २४ हजार ८४७ जना सार्क राष्ट्रबाट र तीन हजार ८९७ जना अन्य मुलुकबाट थिए।
तथ्याङ्कअनुसार सन् २०२६ मा सार्क राष्ट्रबाट आउने पर्यटक संख्या १३ हजार १४२ (३४.५९ प्रतिशत) ले बढेको छ भने अन्य मुलुकबाट आउने पर्यटक १ हजार १७० (२३.०९ प्रतिशत) ले वृद्धि भएको छ।
समग्र वार्षिक तथ्याङ्कले पनि मुस्ताङमा पर्यटनको आकर्षण बढ्दै गएको देखिन्छ। सन् २०२४ मा १ लाख ३५ हजार ७१९ विदेशी पर्यटक भित्रिएकोमा सन् २०२५ मा यो संख्या बढेर १ लाख ६१ हजार १२२ पुगेको थियो।

