काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ सुरु भएको छ।
नेपाल नर्सरी व्यवसायी संघको आयोजनामा बिहीबारदेखि २३ चैतसम्म सञ्चालन हुने उक्त एक्स्पो नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहनेछ।
आयोजकका अनुसार ६५ भन्दा बढी स्टलमा व्यवसायिक, सूचनामूलक तथा प्रतिस्पर्धात्मक प्रदर्शनी राखिएको छ।
कार्यक्रममा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनसँगै बिक्रीका लागि उपलब्ध गराइएको छ। मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बिउबिजन, गमला, औजार–उपकरण र नवीन प्रविधिहरू पनि प्रदर्शनीमा समावेश गरिएको सयोजकले जनाएको छ।
एक्स्पो अवधिभर उत्कृष्ट प्रस्तुति गर्ने सहभागीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
यस वर्ष करिब ५१ हजार दर्शकले एक्स्पो अवलोकन गर्ने तथा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।
संघका अनुसार नर्सरी क्षेत्रमा हाल करिब ११ अर्ब ८३ करोड रुपैयाँ लगानी रहेको छ भने वार्षिक कारोबार ६ अर्ब ४३ करोड रुपैयाँ हुने अनुमान छ।

