काठमाडौं । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्ष परीक्षा थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ देशभर एकैपटक बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गर्ने तय गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सबै तोकिएका केन्द्रबाट एउटै समयमा परीक्षा सुरु हुने छ।
यस वर्षको एसइईमा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये चार लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ ग्रेड वृद्धितर्फका परीक्षार्थी छन्। सहभागीमध्ये छात्राको संख्या बढी रहेको छ—दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्। जापानस्थित एक केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन्।
परीक्षाका लागि देशभर एक हजार ९६६ केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन्। प्रश्नपत्र सातै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्रमार्फत सम्बन्धित केन्द्रमा पठाइसकिएको छ।
सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ। साथै, २० परीक्षार्थी बराबर एक निरीक्षक र १०० परीक्षार्थी बराबर एक सहयोगी खटाइएको छ।
तीन दिनमै उत्तरपुस्तिका परीक्षण गर्ने लक्ष्य
यस वर्ष परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने योजना बनाइएको छ। परीक्षणपछि मार्कस्लिप तयार गरी सुरक्षित रूपमा सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
उत्तरपुस्तिका परीक्षणका क्रममा सिसिटिभी जडित कक्ष प्रयोग गर्ने, बाहिर लैजान नपाउने, अयोग्य व्यक्तिबाट परीक्षण हुन नदिने लगायतका कडाइ गरिएको छ। परीक्षक र संपरीक्षकलाई मोबाइललगायत विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ।
लापरबाही भेटिएमा पुनः परीक्षण गराउने, पारिश्रमिक कटौती गर्ने वा सूचीबाट हटाउनेसम्मको कारबाही हुने व्यवस्था गरिएको छ।
सामूहिक अनुगमनमा रोक
यस वर्ष परीक्षाको सामूहिक अनुगमनमा समेत रोक लगाइएको छ। अनुगमनका नाममा परीक्षा हलमा भीडभाड हुँदा विद्यार्थीको लेखनमा असर परेको गुनासोपछि यस्तो निर्णय गरिएको हो।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ। निर्धारित तालिकाअनुसार चैत २९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

