काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का बेला छिटो उद्धार सुनिश्चित गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा उनले विपद्मा परेका नागरिकको तत्काल उद्धारका लागि हेलिकप्टर स्ट्यान्डबाइमा राख्ने व्यवस्था गरिने जानकारी दिएका हुन्।
सो अवसरमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले देखाएको साहस र समर्पणप्रति धन्यवाद व्यक्त गरे। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार मन्त्री गुरुङले सुरक्षाकर्मीहरूको भूमिकाको प्रशंसा गरे ।
गृहमन्त्री गुरुङले नागरिकको ज्यानभन्दा ठूलो केही नभएको उल्लेख गर्दै आपत् परेको अवस्थामा सेवा र सुरक्षामा कुनै कमी हुन नदिन नेपाल सरकार, गृहमन्त्रालय तथा सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिए।
उनले विपद् सुरु हुनु अघि नै तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई निर्देशन दिँदै अब जनशक्ति ब्यारेकमा सीमित नभई प्रत्यक्ष मैदानमा सक्रिय हुनुपर्नेमा जोड दिए।

