काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको नयाँ संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ः०० बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। प्रतिनिधिसभा बैठकका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको बैठक भने छुट्टै कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन महत्वपूर्ण अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। जसमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ।
संसद्को नियमावली नबन्दासम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कार्य सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। साथै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सदस्यहरूको मनोनयन गर्ने र सभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची समेत रहेको छ।
बैठकमा दलगत आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम पनि तय गरिएको छ।
अधिवेशनको अन्त्यमा पूर्वसंविधानसभा सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा बलदेव बोहोराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूचीमा छ ।

