काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संसद्को पहिलो बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पेश गर्ने सहमति भएको छ।
सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको दलका प्रतिनिधिहरूको बैठकले यस्तो सहमति जुटाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार भोलि २० गते सभामुखका लागि मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने समझदारी बनेको छ।
नयाँ नियमावली तयार नहुँदासम्म प्रतिनिधिसभा बैठक पुरानै नियमावलीअनुसार सञ्चालन गर्ने र चाँडै नयाँ मस्यौदा तयार पार्ने सहमति भएको छ। कार्यव्यवस्था समिति गठन र अध्यक्षता गर्ने सदस्य चयनबारे पनि छलफल भएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसहित विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज (बिहीबार)देखि संसद्को नयाँ अधिवेशन सुरु हुँदैछ।

