काठमाडौं । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्प सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको थियो।
भूकम्पको केन्द्रविन्दु ऐतिहासिक सहर टर्नेटबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी केन्द्रले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
भूकम्पको प्रभाव जापानसम्म महसुस भएको छ। जापानी मौसम विज्ञान एजेन्सीले केही समुद्री तटमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी दिएको छ।
यस घटनामा उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा एक ७० वर्षीया महिलाको घर भत्किँदा मृत्यु भएको पुष्टि भएको छ। सार्वजनिक भएका दृश्यहरूमा मनाडो सहरमा भवनहरूमा क्षति पुगेको र सामानहरू छरपस्ट भएको देखिएको छ।
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका पराकम्पसमेत आइसकेका छन्। थप पराकम्प आउन सक्ने भएकाले अधिकारीहरूले तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

