काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन्।
ह्वाइट हाउसबाट राष्ट्रका नाममा बिहीबार दिएको विशेष सम्बोधनमा उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा हुने क्रममा रहेको र चाँडै अभियानलाई निष्कर्षमा पुर्याइने बताएका हुन्।
सम्बोधनका क्रममा ट्रम्पले करिब एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुर्याएको दाबी गरे। उनका अनुसार इरानी नौसेना कमजोर बनेको, वायुसेना क्षतिग्रस्त भएको र शीर्ष तहका धेरै नेतृत्व प्रभावित भएका छन्।
ट्रम्पले इरानको मिसाइल तथा ड्रोन प्रहार गर्ने क्षमता उल्लेखनीय रूपमा घटेको दाबी गर्दै अमेरिका निर्णायक अवस्थामा पुगेको बताए। उनले सन् २०२५ जुनमा सञ्चालन गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’मार्फत इरानका आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबीसमेत गरे।
साथै, उनले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको आणविक सम्झौतालाई गल्तीको संज्ञा दिँदै आफूले उक्त सम्झौता अन्त्य गरेकोमा गर्व व्यक्त गरे।
क्षेत्रीय सुरक्षाबारे बोल्दै ट्रम्पले इजरायल र खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूको सुरक्षामा अमेरिका प्रतिबद्ध रहेको जनाए। हर्मुज जलसन्धिको सुरक्षाका लागि सहयोगी मुलुकहरूलाई सक्रिय भूमिका लिन पनि उनले आग्रह गरे।
उनले अमेरिकालाई अब उक्त क्षेत्रको तेल वा सुरक्षामा निर्भर रहनु नपर्ने संकेत गर्दै आवश्यक परे अमेरिकी सेना फिर्ता हुनसक्ने धारणा राखे।
घरेलु सन्दर्भमा ट्रम्पले इन्धनको मूल्य वृद्धिका लागि इरानलाई दोषी ठहर गर्दै निकोलस मदुरोको नेतृत्वमा रहेको भेनेजुएलामा गरिएको सैन्य अभियान सफल भएको र अहिले अमेरिका–भेनेजुएला व्यापारिक सहकार्यमा रहेको उल्लेख गरे।

