काठमाडौं । इण्डियन प्रिमियर लिग २०२६ अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै सिजनको पहिलो जित दर्ता गरेको छ।
लखनऊस्थित इकाना स्टेडियममा बुधबार भएको खेलमा लखनउले टस हारेर पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १४१ रन बनायो। जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएर सहज जित निकाल्यो।
१४२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुआत कमजोर रह्यो। पहिलो बलमै केएल राहुल आउट हुँदा टोली दबाबमा परेको थियो। २६ रनमै ४ विकेट गुमाएको अवस्थामा समीर रिजवी र ट्रिस्टन स्टब्सले उत्कृष्ट साझेदारी गर्दै खेल जिताए। दुवैले पाँचौं विकेटका लागि ७६ बलमा १ सय १९ रनको अविजित साझेदारी गरेका थिए। रिजवीले ७० रन बनाउँदा स्टब्स ३९ रनमा नटआउट रहे।
लखनउका लागि प्रिन्स यादवले २ विकेट लिँदा मोहम्मद शमी र मोहसिन खानले समान १–१ विकेट लिए।
यसअघि लखनउका कप्तान रिसभ पन्त आउट भएपछि टोली दबाबमा परेको थियो। मिचेल मार्शले ३५ रन जोड्दा अब्दुल समदले ३६ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए।
दिल्लीका लागि लुंगी एनगिडी र टी नटराजनले समान ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट झारे।
यस जितसँगै दिल्लीले अंक तालिकामा खाता खोलेको छ। सुरुआती खेलपछि राजस्थान रोयल्स शीर्ष स्थानमा रहँदा रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो र दिल्ली तेस्रो स्थानमा उक्लिएको छ।

