काठमाडौं । इरानले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्समा रहेका तेल तथा ग्यास पूर्वाधारमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।
इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले दक्षिण पार्स क्षेत्रसँग सम्बन्धित प्राकृतिक ग्यास पूर्वाधारमा इजरायलद्वारा गरिएको आक्रमणपछि प्रतिकारस्वरूप यस्तो चेतावनी दिएको जनाएको छ।
सार्वजनिक सन्देशमार्फत आईआरजीसीले आगामी केही घण्टाभित्रै आक्रमण हुन सक्ने संकेत गरेको छ।
इरानले साउदी अरबको समरेफ रिफाइनरी र जुबैल पेट्रोकेमिकल कम्प्लेक्स, यूएईको अल होसन ग्यास फिल्ड तथा कतारका मेसाइद पेट्रोकेमिकल कम्प्लेक्स, मेसाइद होल्डिङ कम्पनी र रास लाफान रिफाइनरीलाई सम्भावित लक्ष्यका रूपमा उल्लेख गरेको छ।
इरानी राज्य सञ्चारमाध्यमहरूले ती क्षेत्र वरपर बसोबास गर्ने सर्वसाधारणलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न चेतावनी दिएका छन्।
“ढिलाइ नगरी ती क्षेत्रहरू खाली गर्नुहोस्,” सन्देशमा भनिएको छ।
यस घटनाक्रमले खाडी क्षेत्रमा तनाव थप चुलिएको संकेत गरेको छ भने अन्तर्राष्ट्रिय समुदायले यसप्रति गम्भीर चासो व्यक्त गर्ने सम्भावना बढेको छ।

