काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
यसपटक सर्लाही-४बाट उम्मेदवार बनेका थापा डा. अमरेशकुमार सिंहसँग पराजित भएका थिए। थापा यसअघि काठमाडौं-४बाट लगातार दुई पटक निर्वाचित भएका थिए।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ सिट जित्दै पहिलो शक्ति बनेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित कुल ३८ सिट प्राप्त गरेको छ।
चुनावी नतिजापछि थापाले राजीनामाको तयारी गरेका थिए। तर पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव तथा दबाब दिँदै आएका थिए।
उल्लेखनीय छ, थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए। उनले बुझाएको राजीनामाबारे निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।

