काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूका लागि २०८२ चैत ४ गते आयोजित अभिमुखीकरण कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले योग–ध्यानमार्फत आत्मचेतना र आन्तरिक सन्तुलनको अभ्यास गराउनुभएको छ। कार्यक्रममा “स्वजागरण ध्यान विधि” प्रस्तुत गर्दै उहाँले नेतृत्व विकास र राष्ट्र निर्माणमा आध्यात्मिक चेतनाको महत्त्वबारे गहिरा धारणा राख्नुभयो।
गुरुदेवले नेपाललाई प्राचीनकालदेखि नै विश्वको “तनाव व्यवस्थापनको केन्द्र”का रूपमा विकास गरिएको उल्लेख गर्दै देशको मौलिक चरित्र नबुझी नीति निर्माण गर्नु उपयुक्त नहुने बताउनुभयो। उहाँका अनुसार नेपाल केवल भौगोलिक सीमाभित्र सीमित नभई, अध्यात्म र आरोग्यको मूल धरोहर बोकेको राष्ट्र हो, जसले मानवभित्रको गहन शान्ति र परम शक्तिलाई जगाउने क्षमता राख्छ।
“शान्ति र शक्तिको अपूर्व संगम नै मानिस हो,” भन्दै उहाँले आत्मबोध र आन्तरिक सन्तुलनबिना प्रभावकारी नेतृत्व सम्भव नहुने स्पष्ट पार्नुभयो। नेपालले हजारौँ वर्षदेखि आरोग्य र अध्यात्मको क्षेत्रमा साधना गर्दै आएको उल्लेख गर्दै उहाँले आरोग्यलाई देशको मुख्य उत्पादनका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी सांसदहरूलाई ध्यान अभ्यासमार्फत मानसिक स्पष्टता, आत्मविश्वास र निर्णय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको थियो। साथै, गुरुदेवले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ घोषणा गरी अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई आकर्षणको केन्द्र बनाउन सकिने सुझाव दिनुभयो।
रास्वपाले नयाँ राजनीतिक संस्कार र वैकल्पिक सोचलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ।

