हालै सम्पन्न आमनिर्वाचनमा उल्लेखनीय जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति राजनीतिक वृत्तमा आशा, ईर्ष्या र सतर्कताको मिश्रित दृष्टिकोण देखिएको छ। यसैबीच पार्टी सभापति रवि लामिछाने ले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त गरेका विचारलाई सकारात्मक रूपमा लिइएको छ।
अभिमुखीकरणका क्रममा लामिछानेले विनम्रता र जिम्मेवारीपूर्ण व्यवहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। “फलेको हाँगो निहुरिन्छ” भन्ने लोकोक्तिको सन्दर्भ दिँदै उनले जनताको विश्वासलाई सम्मान गर्नुपर्ने बताएका छन्।
त्यसैगरी, रास्वपाले प्राप्त गरेको जनमतलाई कुनै एक दल वा व्यक्तिको जीतभन्दा पनि समग्र नेपाली राजनीतिमा पुनर्संरचना र पुस्तान्तरणको सन्देशका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरिएको छ। पुराना दल तथा नेताहरूको ऐतिहासिक योगदानको सम्मान गर्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिइएको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले समेत यस प्रकारको सोचलाई अर्थपूर्ण र सकारात्मक भएको टिप्पणी गर्दै रास्वपालाई शुभकामना दिएका छन्।

