काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ।
तनहुँको दमौलीस्थित सबस्टेसनमा बुधबार आयोजित कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज तथा केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतको सहभागिता रहेको थियो।
जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह–वित्तपोषित यस परियोजनाअन्तर्गत करिब ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। साथै, लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने जर्मनी दूतावासले जनाएको छ।
करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यो परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाल सुदृढ बनाउने अपेक्षा गरिएको छ। विशेषगरी तनहुँ जलविद्युत् आयोजनालगायत विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रभावकारी रूपमा प्रसारण गर्न मद्दत पुग्नेछ।
यस परियोजनाले राष्ट्रिय ग्रिडको भरपर्दोपन बढाउने, नवीकरणीय ऊर्जाको समावेशलाई प्रोत्साहन गर्ने र नेपालको ऊर्जा सुरक्षा तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

