बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष सहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले ढोरपाटन उपत्यका पूर्ण रूपमा हिउँले ढाकिएको छ।
हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ। ढोरपाटन उपत्यका आसपासका क्षेत्र सेताम्य भएका छन् भने पशुचौपायालाई घाँस दाना खुवाउनसमेत समस्या परेको स्थानीयहरूले बताएका छन्।
स्थानीय धनबहादुर विकका अनुसार केही दिनदेखि भइरहेको वर्षासँगै अहिले निरन्तर हिमपात हुँदा हिँडडुल गर्नसमेत कठिन भएको छ। आलु रोप्नका लागि बोबाङ र अधिकारीचौरलगायत क्षेत्रबाट ढोरपाटन पुगेका किसानहरू पनि हिमपातका कारण प्रभावित बनेका छन्।
“चैतमा कहिलेकाहीँ मात्रै हिउँ पथ्र्यो, तर यसपटक गर्मी सुरु हुन लाग्दा भारी हिमपात भयो,” विकले भने, “आलु रोप्ने बेला भएकाले काम प्रभावित भएको छ।”
त्यस्तै स्थानीय तुलराम पुनले हिमपातका कारण अत्यधिक चिसो बढेको र दैनिक गतिविधि सञ्चालन गर्न समस्या भएको बताए। रातिदेखिको हिमपातले बाहिर निस्कन र पशुचौपायाको हेरचाह गर्नसमेत कठिनाइ भएको उनले उल्लेख गरे।

