काठमाडौँ । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सुखिपुर नगरपालिका–३ का गुमस्ता यादवलाई सलग्नताको आशंकामा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी अदालत परिसरमै लेखापढी व्यवसाय सञ्चालन गर्दै आएका थिए।
घटनामा संलग्न हुनसक्ने आशंकामा उनलाई नियन्त्रणमा लिएर चार दिनदेखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ। उनले अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए।
गत फागुन २७ गते बार एसोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोटमा सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको थियो। विस्फोटका कारण कार्यालयका कम्प्युटरलगायत सामग्रीमा क्षति पुगेको थियो।
प्रहरीले घटनाको कारण र संलग्नता खुलाउन थप अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

