काठमाडौँ । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि पश्चिम एसियामा जारी तनाव २१ दिन पुगेको छ । यसबीच त्यहाँ रहेका नेपालीहरूको सुरक्षा, उद्धार र सहायताका लागि नेपाल सरकारले सक्रिय पहल गरिरहेको जनाएको छ।
तनावका कारण विभिन्न मुलुकमा ट्रान्जिटमा फसेका नेपालीहरू अवस्था केही सहज भएसँगै आफ्नो गन्तव्यतर्फ जान थालेका छन्। सुरुमा दोहा, दुबई, जेद्दा र कुवेत सिटीमा समस्या बढी देखिए पनि अहिले दोहा र दुबईबाट सीमित हवाई उडान पुनः सुरु भएपछि अधिकांश नेपाली गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
जेद्दामा समस्यामा परेका ५२ जना हजयात्री चैत ५ गते स्वदेश फर्किसकेका छन् भने कुवेत सिटीमा फसेका बाँकी ३३ जनालाई पनि साउदी अरबको भिसा मिलाएर गन्तव्यतर्फ पठाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार युएईमा एक नेपालीको मृत्यु भएको छ भने २० जना सामान्य घाइते भएका थिए। घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् र अस्पतालमा रहेका एक जना पनि खतरामुक्त छन्। अन्य सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।
नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले आपत्कालीन प्रतिकार्य समूह गठन गरेको छ भने २४सै घण्टा सञ्चालन हुने नियन्त्रण कक्षमार्फत समन्वय भइरहेको छ। हालसम्म ८२ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइनमार्फत दर्ता गराएका छन्।
यसैबीच सामाजिक सञ्जालमा त्रास फैलाउने सामग्री बनाउने र सेयर गर्ने सात नेपाली पक्राउ परेका छन्। मन्त्रालयले सबैलाई सम्बन्धित देशका कानुन र सुरक्षा निर्देशिका पालना गर्न आग्रह गर्दै उल्लङ्घन गरे कडा कारबाही हुने चेतावनी दिएको छ।
सरकारले द्वन्द्वरत पक्षलाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न पनि आह्वान गरेको छ।

