काठमाडौं। बाढी र पहिरोका कारण बीपी राजमार्ग आज बिहान साढे तीन बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार दिउँसोको वर्षापछि आएको बाढीले सडक अवरुद्ध बनाएको हो।
काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायत स्थानमा पहिरो खस्नुका साथै रोशी खोलामा आएको बाढीले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ।
यसअघि ०८१ साल असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको सडकमा डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। तर, गएराति आएको बाढीले उक्त डाइभर्सनसमेत बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
हाल सडक खुलाउने काम जारी रहेको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन काभ्रेका विभिन्न स्थानमा रोकिएका छन्।
प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

