काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले आज देशभर मौसम बदली हुने भएको छ।
महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा अधिकांश स्थानमा बदली रहेको छ भने अन्य स्थानमा पनि आंशिकदेखि सामान्य बदली देखिएको छ।
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशलगायत हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले खराब मौसमका कारण हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

