काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ।
खेलको मुख्य आकर्षण अभिषेक शर्माको शानदार शतक रह्यो। उनले ६८ बलमा १० चौका र १० छक्कासहित अविजित १३५ रन बनाउँदै हैदराबादलाई २० ओभरमा २ विकेट गुमाएर २४२ रनको विशाल योगफलसम्म पुर्याए। उनलाई हेनरिक क्लासेन (अविजित ३७ रन) र ट्राभिस हेड (३७ रन)ले राम्रो साथ दिएका थिए।
२४३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि नितिश रानाले सर्वाधिक ५७ रन बनाए भने समिर रिज्भीले ४१ रन बनाए। केएल राहुलले ३७ रन योगदान गरे।
बलिङतर्फ हैदराबादका इशान मलिंगाले ४ विकेट लिएर जितमा महत्वपूर्ण भूमिका खेले।
यस जितसँगै हैदराबाद ७ खेलबाट ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने दिल्ली ६ खेलबाट ६ अंकसहित पाँचौं स्थानमै रहेको छ।

