काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।
१८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका लामाले संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै अब कुनै पनि दलमा आबद्ध नरही स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका हुन्।
लामाले पार्टीभित्र लामो समयसम्म भूमिकाविहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा युवा तथा खेलकुद विभागका सदस्यका रूपमा कार्यरत थिए।
राजीनामा पत्रमा उनले प्रचण्ड नेतृत्वको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना तथा धर्मनिरपेक्षताका लागि महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्। साथै, आफूले पाएका जिम्मेवारीका लागि आभार पनि व्यक्त गरेका छन्।
तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महारा र खेलकुदमन्त्री हितबहादुर तामाङको कार्यकालमा पाएका अवसरले राष्ट्रसेवामा योगदान गर्न सकेको उनले उल्लेख गरेका छन्।
पार्टी छोड्नुको कारणका रूपमा उनले ‘किचन क्याबिनेट’, गुटबन्दी र नेतामुखी राजनीति रहेको बताएका छन्। आफू कुनै गुटमा नलागेको र नेताको घर–घर धाउने प्रवृत्तिमा सहभागी नभएकै कारण ओझेलमा परेको उनको भनाइ छ।
दुई महाधिवेशनमा कनिष्ठहरूलाई प्राथमिकता दिइएको र बाहिरबाट आएका व्यक्तिहरूलाई सिधै उच्च पदमा समेटिएको तर आफूलाई निरन्तर भूमिकाविहीन बनाइएकोमा उनले असन्तुष्टि जनाएका छन्।
लामाले पार्टीको पछिल्लो सांगठनिक संरचनामा समेत आफ्नो स्थान नदेखिएको उल्लेख गर्दै अब स्वतन्त्र मतदाताका रूपमा रहने स्पष्ट पारेका छन् ।

