– धनकुमार श्रेष्ठ
विषय प्रवेश
मानिस धनले मात्र होइन, असल सम्बन्धले पनि धनी बन्छ। जीवनका सुख-दुःख, आपद्-विपद् र दैनिक आवश्यकताका धेरै क्षणहरूमा सबैभन्दा नजिक साथ दिने व्यक्ति प्रायः छिमेकी नै हुन्छन्। बाँच्दाका जन्ती, पर्दाका सहयात्री र मर्दाका मलामी पनि छिमेकी नै हुने भएकाले छिमेकी सम्बन्ध आत्मीयता, भरोसा र मानवीयताको आधार हो।
तर आजको व्यस्त जीवनशैली र व्यक्तिगत सोचका कारण छिमेकीबीच दूरी बढ्दै गएको देखिन्छ। सामान्य कुराबाट मनमुटाव, बोलचाल बन्द र पानी बाराबार जस्ता अवस्था सिर्जना हुँदा सामाजिक सद्भाव कमजोर हुँदै जान्छ।
वास्तवमा सम्बन्ध बिगार्न सजिलो छ, तर जोड्न ठूलो मन चाहिन्छ। मीठो बोली, सम्मान, सहयोग, ऐंचोपैंचो, समझदारी र “म” भन्दा “हामी” भन्ने भावनाले टाढिएको मनलाई फेरि नजिक ल्याउन सक्छ। यही सकारात्मक सोचका साथ प्रस्तुत छन् – “छिमेकी सद्भाव वृद्धिका व्यवहारिक सूत्रहरू”।
१. सम्पर्क, चिनजान र भलाकुसारी
छिमेकीसँग नियमित सम्पर्क, भेटघाट र संवाद कायम राख्नुपर्छ। हालखबर बुझ्ने, अभिवादन गर्ने र सामान्य कुराकानी गर्ने बानीले आत्मीयता र विश्वास बढाउँछ।
२. सम्मानजनक र सुमधुर व्यवहार
छिमेकीबीच सधैं सम्मान, नम्रता र शिष्टाचारपूर्ण व्यवहार हुनुपर्छ। सबैप्रति समान आदर, मीठो बोली र सकारात्मक सोचले सम्बन्ध सुमधुर बनाउँछ।
३. विश्वास, आत्मीयता र असल छिमेकी भावना
आपसी विश्वास, इमानदारी र सहयोगी भावना छिमेकी सम्बन्धको आधार हो। गोपनीयताको सम्मान र परिवारजस्तै अपनत्वले सम्बन्ध बलियो बनाउँछ।
४. एकता, सहकार्य र सामूहिक सहभागिता
टोल–समाजका सरसफाइ, सुरक्षा, विकास र सामाजिक कार्यमा सबैको सहभागिता आवश्यक हुन्छ। सहकार्यले समाजलाई व्यवस्थित र बलियो बनाउँछ।
५. सुख–दुःखमा साथ, सहयोग र ऐंचोपैंचो
आपत्–विपद्, रोग-व्याधि वा कठिन अवस्थामा छिमेकीबीच साथ र सहयोग आवश्यक हुन्छ। ऐंचोपैंचो र सरसापटको संस्कारले आत्मीयता अझ बढाउँछ।
६. समझदारी, सहिष्णुता र विवाद समाधान
साना विवादलाई समझदारी र संवादमार्फत समाधान गर्नुपर्छ। रिस, द्वेष र अफवाहबाट टाढा रहँदा सम्बन्ध सुरक्षित रहन्छ।
७. अनुशासन, सरसफाइ र सामाजिक उत्तरदायित्व
सार्वजनिक स्थल, घर-आँगन र वातावरणको संरक्षण सबैको दायित्व हो। सरसफाइ र अनुशासनले सभ्य समाज निर्माण गर्छ।
८. “हामी” भावना, सामुदायिक एकता र पठन संस्कार
“म” भन्दा “हामी” भन्ने भावना विकास गर्नुपर्छ। पुस्तक आदान–प्रदान, सामूहिक पठन र संवादले ज्ञानसँगै सम्बन्ध पनि बलियो बनाउँछ।
९. धुमिल सम्बन्ध सुधार्ने व्यवहारिक उपाय
असमझदारी वा मनमुटाव हुँदा संवाद सुरु गर्ने, भेटघाट बढाउने, क्षमा गर्ने र सहयोग गर्ने बानीले टाढिएको सम्बन्ध फेरि नजिक ल्याउन सक्छ।
१०. मानवता, सद्भाव र सकारात्मक संस्कार
मानवता, सद्भाव र सकारात्मक सोचलाई जीवनशैली बनाउनु आवश्यक छ। असल संस्कारले समाजलाई सभ्य र सुखी बनाउँछ।
निष्कर्षत:
असल छिमेकी सम्बन्ध सभ्य र सुरक्षित समाजको आधार हो। छिमेकीबीच आत्मीयता, विश्वास, सम्मान र सहयोग कायम रहँदा सामाजिक सद्भाव बलियो हुन्छ। सम्बन्ध बिग्रँदा सबैभन्दा ठूलो क्षति मानवीय सम्बन्धमा हुन्छ, जसले समाजलाई विभाजित बनाउँछ। त्यसैले सम्बन्ध तोड्ने होइन, जोड्ने संस्कार अपनाउनु नै बुद्धिमानी हो।
यदि यी व्यवहारिक सूत्रहरू जीवनमा अपनाउन सकियो भने मानवीय नाता अझ प्रगाढ बन्नेछ, भाइचारा सम्बन्ध मजबुत हुनेछ र समाजमा सहयोग, सद्भाव र एकताको वातावरण फैलिँदै जानेछ। अस्तु

