काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ ।
त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने पनि कार्यसूचिमा छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना सदनलाई अवगत गराइने कार्यसूची (सम्भावित) रहेको छ ।
त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदन तथा नियमावलीको मस्यौदा पेस गर्ने कार्यसूची पनि रहेको छ ।
यसैबीच सरकारले जारी गरेका विभिन्न अध्यादेश संसद्मा पेस गर्ने तयारी गरिएको छ ।
‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश प्रतिनिधिसभामा पेश हुने छ ।

