काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको उद्घाटन खेलमा नेपालले हार व्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित भएको हो। वर्षाले खेल अवरुद्ध बनाएपछि ‘डिएल मेथड’ अनुसार युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो।
उक्त लक्ष्य पछ्याउँदै युएईले ८.५ ओभरमै ४ विकेट गुमाएर जित सुनिश्चित गर्यो। युएईका कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। अलीशान शरफुले १८ रन जोडे भने अक्षदिप नाथ १७ रनमा अविजित रहँदै खेल समाप्त गरे।
नेपालका लागि सन्दीप लामिछानेले प्रभावशाली बलिङ गर्दै २ ओभरमा ८ रन मात्र खर्चेर ३ विकेट लिए। कुशल मल्लले एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो। कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ बलमा अविजित ३२ रन बनाए। कुशल मल्लले १७, कुशल भुर्तेलले १६ तथा बासिर अहमदले १४ रनको योगदान दिए। अन्त्यतिर नन्दन यादवले दुई छक्का प्रहार गर्दै १३ रन जोडेर टोलीको स्कोर उकासे।
युएईका मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट लिए। नेपालको इनिङ्सपछि वर्षा सुरु भएसँगै खेल प्रभावित भएको थियो। यस नतिजासँगै युएईले शृङ्खलामा १–० को अग्रता बनाएको छ। नेपाल र युएईबीचको दोस्रो खेल आज हुने छ।
Previous Articleआप्रवासी घरेलु श्रमिकका अधिकारबारे गोष्ठी सम्पन्न
Next Article पूर्व राज्यमन्त्री तामाङलाई अनुशासनको दण्डा

